२२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले न्याय परिषदमा सिफारिस गर्ने सदस्यको नाम मतदानबाटै टुंगो लगाएको छ । शनिबार बार कमिटीले बहुमतको निर्णयका आधारमा रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
कानून व्यवसायीहरुको छाता संगठन बारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बर्चश्व छ । न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद थियो ।
ओली समूहले महेश नेपालको नाम अघि सारेको थियो भने प्रचण्ड-नेपाल समूहले श्रेष्ठलाई पठाउन चाहेको थियो । शनिबार बारमा भएको मतदानमा ओली पक्षका उम्मेदवार पराजित भएका छन् ।
यसअघि परिषद सदस्य सिफारिस भएर पनि दुई महिनाभन्दा बढी काम गर्न नपाएको र वरिष्ठ पनि भएकाले श्रेष्ठलाई agoradesign.it पठाउनुपर्ने प्रचण्ड र नेपाल पक्षको तर्क थियो ।
तर, ओली पक्ष त्यसमा सहमत नभएपछि मतदानमै जानुपरेको बारका एक पदाधिकारीले जानकारी दिए ।
बार पदाधिकारीका अनुसार न्यायपरिषद सदस्य बन्न पाइने एकजनाको कोटामा ३२ जना वकिलहरु आंकाक्षी थिए । डेमोक्रेट खेमाबाट हरिशंकर निरौला पनि आंकाक्षी थिए ।
शनिबार बारको बैठकमा मतदान हुँदा सबै आकांक्षीलाई मत दिन सक्ने भनिएको थियो । तर श्रेष्ठ र नेपालले मात्र मत पाएका छन् ।
श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत मात्र पाएका छन् । र, तीन मतकमो फरकले रामप्रसाद श्रेष्ठ छानिएका छन् ।